मधेश प्रदेश अन्तर्गत रौतहट जिल्लाको अठारह स्थानीय तहहरु मध्येको एक हो परोहा नगरपालिका । वि.सं. २०७४ मा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचन पश्चात परोहा नगरपालिकाको पहिलो नगर सभाबाट नगरपालिकालाई स्वच्छ र हराभरा बनाउने निर्णय भयो । सोही अनुसार परोहा नगरपालिकाको प्रवेश बिन्दु बिरेन्द्र राजमार्ग देखि भारतको सिमाना (वडा नं. १ देखि ९) सम्म १३ कि.मी. लामो सडकको दुबै तिर करिब १२ (बाह्र) हजार विरुवा सहितको वृक्षारोपण गरिएको थियो । लामो दुरीमा वृक्षारोपण भएकोले पानीको कमी, रेखदेख तथा संरक्षणको अभावका कारण विरुवाहरु सुकेको, गाईवस्तुहरुले चर्ने गरेको र खेतालाहरुले उखालेर फाल्ने जस्ता समस्याले गर्दा अधिकांश विरुवाहरु नष्ट भएको अवस्था थियो ।
वि.सं. २०७५ फागुनमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएपछि यस नगरपालिकामा रोजगार सेवा केन्द्रको स्थापना पश्चात सूचीकृत बेरोजगार व्यक्तिहरुलाई स्थानीय तहमै न्यूनतम रोजगारी उपलब्ध गराउने कामको शुरुवात भयो । तत् पश्चात वि.सं. २०७७ सालमा पहिलो पटक प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना मार्फत न्यूनतम रोजगारीका लागि सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई वि.सं. २०७४ मा १३ कि.मी. लामो सडकको दुबै किनारमा गरिएको वृक्षारोपणमा विरुवाहरु सुकेको ठाउँहरुमा नयाँ विरुवा लगाउने, समय समयमा पानी तथा मलखाद राख्ने, विरुवाहरुको संरक्षण तथा गोडमेल गर्ने कार्यमा लगाईएको थियो । जसको परिणामस्वरुप ७० (सत्तरी) प्रतिशत भन्दा बढी विरुवाहरु सप्रिन सफल भएको थियो । त्यसपछि पुनः वि.सं. २०७८ सालमा यस नगरपालिकाको वडा नं. ७ को सिमानामा पर्ने बंकुल देखि वडा नं. ९ को रामपुरसम्म करिब ५ कि.मी. सडकको दुबै तिर ४ हजार विरुवा, मोतीपुर देखि मत्सरी सम्म करिब २.५ कि.मी. सडकको दुबै तिर २ हजार विरुवा र हुलाकी राजमार्ग अन्तर्गत यस नगरपालिकाभित्र पर्ने २.५ कि.मी. सडकको दुबै तिर २ (दुई) हजार विभिन्न किसिमका विरुवाहरु सहितको वृक्षारोपण आयोजनालाई विस्तार गरियो । तीन वर्षको अवधिमा करिब २३ कि.मी. सडकको दुबै किनारमा २० हजार विरुवा सहितको वृक्षारोपण गरिएको छ । विरुवाहरुको गोडमेल, पानी राख्ने, मलखाद राख्ने, स्याहार्ने तथा सुकेको ठाउँमा नयाँ विरुवा लगाउने कार्यलाई निरन्तरता दिदै आएको छ । यस आयोजनामा लगाईएको बिरुवाहरु वन कार्यालयबाट उपलब्ध भएको थियो भने मलखाद, पानी, जाली, बाँसको किला, तार लगायत अन्य सामग्रीहरु नगरपालिकाद्वारा उपलब्ध गराईएको थियो ।
विगत ३ वर्ष देखि निरन्तर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारीका लागि सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई न्यूनतम् रोजगारीमा सामेल गराई विरुवा सपार्ने काम गराईदै आएको छ । जसको परिणामस्वरुप यस नगरपालिकाको वृक्षारोपण आयोजना गौरबको आयोजनाको रुपमा स्थापित भएको छ । साथै यस आयोजनामा काम गर्ने बेरोजगार व्यक्तिहरुको आयमा वृद्धि भई जीवनस्तरमा पनि सुधार भएको छ । गाउँ ठाउँ मै प्राप्त रोजगारीले ऋण लिनु परेको छैन्, साहु महाजनकोमा जानु परेको छैन् । रोजगारीको सिलसिलामा भारतको पञ्जाब, हरियाना, गुजरात आदि ठाउँमा जाने क्रममा ब्रेक लागेको अवस्था छ । गाउँघरमै रोजगारी प्राप्त हुने भए पछि पारिवारिक सम्बन्ध बलियो हुनुको साथै छोराछोरीको विद्यालय शिक्षामा पनि सहजता कायम भएको छ ।
यस वृक्षारोपण आयोजनाले नगरलाई स्वच्छ र हराभरा बनाउनुको साथै बाटोको सौन्दर्यता समेत बढाएको छ । पर्यावरण स्वच्छ राख्न ठूलो योगदान गरेको छ । युवायुवतीहरुको लागि टिकटक स्पट एवं मनोरञ्जनको साधनको रुपमा परिणत भएको छ । खेतमा काम गर्ने किसानहरुको लागि थकाई मार्ने विश्रामस्थल बनेको छ । यसले नगरपालिकामा वनक्षेत्र नभए तापनि त्यसको परिपूर्ति गर्नमा उल्लेख्य सहयोग गरेको छ । यसले जलवायू परिवर्तनको न्यूनीकरणमा पनि योगदान पुग्नेछ । यसले जमिन मुनि पानीको भण्डारण, जैविक विविधताको संरक्षण, चराचुरुङ्गीहरुको लागि आश्रय स्थल तथा प्राकृतिक प्रकोपको न्यूनीकरणमा समेत सहयोग पुगेको छ । वृक्षारोपण आयोजनाको सफलताले यस परोहा नगरपालिकालाई मधेश प्रदेशमै नमुना नगरपालिकाको रुपमा पहिचान बनाउन सफलता मिलेको छ ।